एजेन्सी । घरेलु टोली इंग्ल्यान्डले पहिलो टेष्ट क्रिकेटमा भारतलाई पराजित गरेको छ । पहिलो टेष्टको चौथो दिन शनिबार इंग्ल्यान्डले भारतलाई ३१ रनले हराएको हो ।
योसंगै इंग्ल्यान्डले आफ्नो ऐतिहासिक १ हजारौं टेष्टमा जित निकालेको छ । र, भारतविरुद्धको पाँच खेलको सिरिजमा १ – ० ले अग्रता समेत बनाएको छ । दोस्रो टेष्ट बिहिबार सुरु हुनेछ ।
सन् १९०२ बाट टेष्ट खेल्न सुरु गरेको इंग्ल्यान्डयो यो एक हजार टेष्ट क्रिकेट हो । इंग्ल्यान्डले आफ्नो एक हजार टेष्टमा ३५८ टेष्ट जितेको छ भने २९७ टेष्टमा पराजित भएको छ । इंग्ल्यान्डले ३४५ टेष्ट बराबरी खेलेको हो ।
बिर्मिन्घममा घरेलु टोलीले दिएको १९४ रनको लक्ष्य पछ्याएको भारतले ५४ ओभर २ बलमा अलआउट हुँदै १६२ रन मात्र बनाउन सक्यो ।
५ विकेटको क्षतिमा ११० रनको स्थितिबाट चौथो दिनको खेल सुरु गरेको भारतले थप ५२ रन जोड्दा अलआउट भयो । दोस्रो पारीमा कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै भारतका हार्दिक पाण्डयले ३१, दिनेश कार्तिकले २० रन जोडे ।
भारतको पारी ध्वस्त बनाउन दुई विकेट लिएका बेन स्टोकले एकै ओभरमा विराट र मोहमद सामीलाई आउट गरेका थिए । यस्तै स्टुवार्ड बोर्ड र जेम्स एण्डरसनले पनि समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा २८७ रन जोडेको थियो । दोस्रो पारीमा १८० रनमा अलआउट भएपछि इंग्ल्यान्डले भारतलाई १९४ रनको झिनो लक्ष्य दिएको थियो ।
यसअघि पहिलो पारीमा भारतले २७४ रन बनाएको थियो । भारतका लागि कप्तान विराटले १४९ रनको शतकीय पारी खेलेका थिए ।