पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा बुटवल ब्लास्टर्सले विजयी सुरुवात गरेको छ ।
बुटवलले काठमाडौं गोल्डेन वारियर्सलाई सुपर ओभरमा पराजित गरेकाे हो ।
पोखरा रंगशालामा सुपर ओभरमा १३ रनको लक्ष्य पछ्याएको काठमाडौंले मात्र २ रन बनाउन सक्यो ।
निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेकाे थियाे ।
यस अघि, काठमाडौंले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएकाे थियो ।
बुटवलका हर्ष टोकले सर्वाधिक ४५ रन बनाए । ३ चौका र ३ छक्का प्रहार गरेका उनी अर्धशतकबाट ५ रनले चुके । शिवम सिंहले ३२ रनको अविजित इनिङस खेले ।
यस्तै, शंकर राना २०, अफ्ताबुदीन अमेद १४, भिम सार्की १३ रन, कप्तान सोमपाल कामीले ११ रनको योगदान गरे ।
काठमाडौंका सुशन भारी र सुबोध भाटीले समान २/२ विकेट लिए ।
अन्तिम ओभरमा बुटवललाई ९ रन चाहिएको अवस्थामा काठमाडौंका पवनले ८ रन खर्चेर १ विकेट लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अन्तिम बलमा १ रन आवश्यकको रहेको बेला बिपिन खत्री स्टम्पिङ भएका थिए ।
यसअघि, पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
उसका पवन सर्राफले सर्वाधिक अविजित ३७ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै, जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्मान १५/१५ रन जोडे ।
बुटवलका नितेश थापाले २ विकेट लिए । यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान १/१ विकेट हात पारे ।
दुई खेलमा दुई हार व्यहोरेको काठमाडौंको लागि अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेकाे छ ।
प्रतियोगिताको तेस्रो दिन भोली (मंगलबार) पोखरा पल्टन र चितवन राइनोजबीच खेल हुनेछ ।