पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन वारियर्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनायो । उसका पवन सर्राफले सर्वाधिक अविजित ३७ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्मान १५/१५ रन जोडे ।
बुटवलका नितेस थापाले २ विकेट लिए ।
यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान १/१ विकेट हात पारे ।
सातौं ओभरको पहिलो बलमा सुबास खकुरेल रन आउट भए । यस्तै दोस्रो विकेटका रुपमा गौरभ तोमार समेत रन आउट हुन पुगे । उनलाई संकर रानाले रन आउट गराए ।
यस्तै कोल्सावालालाई हरि बहादुर चौहानको बलमा सर्ट कभरमा सोमपालको हातबाट क्याच आउट गरे । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ललाई नितेस थापाको बलमा परिवर्तित खेलाडी शेर मल्लले सर्ट मिड अफमा क्याच आउट गरे ।
लगत्तै नितेसकै बलमा बिपिन खत्रीले सुबोध भाटीले प्रहार गरेको बललाई डिप मिडविकेटमा आकर्षक डाइभिङ क्याच लिए । अविनास बोहराको व्यक्तिगत पहिलो ओभरमा आदील खान सर्ट कभरमा अफ्ताबुदीन अमेदको हातबाट आउट भए ।
उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनसंग पराजित भएको काठमाडौँ दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न चाहन्छ ।
यस्तै, बुटवल सुखद सुरुवातको लक्ष्यमा रहेको छ ।