पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) क्रिकेटमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो ।
विराटनगरका कमल सिंह ऐरीले अविजित २६ रन बनाए । २१ बल खेलेका ऐरीले २ चौका र २ छक्काको मद्दतमा २६ रन बनाए ।
यस्तै स्रिमन्था विजारत्ने २५ रनको योगदान गरे । रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२, मन्जित श्रेष्ठले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
विराटनगरका शाहब आलमले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३० रन खर्चेर ३ विकेट हात पारे । यस्तै नोमन खान २ र किश्वोर महत्व, पुनित मेहेरा र जयद आलमले समान १/१ विकेट हात परे ।
१ ओभर २ बलमा किशोर महत्त्वको बलिङमा सन्दीप सुनार ३ रन बनाउँदा जितेन्द्र मुखियाको हातबाट 'थर्ड म्यान'को दिशामा क्याच आउट भए ।
दोस्रो विकेटको रुपमा रोड्रिगो थोमस व्यक्तिगत १६ रनमा आउट भए । अघिल्लो बलमा नोमन खानलाई छक्का प्रहार गरेका थोमस पुन: सोहि सर्ट प्रहार गर्ने क्रममा 'मिड अन' क्षेत्रमा जाएद आलमको हातबाट क्याच आउट भए ।
यस्तै कप्तान दिपेन्द्र सिङ ऐरी पावर प्लेपछिको पहिलो बलमा 'गोल्डेन डक' भए । शाहाब आलमको व्यक्तिगत पहिलो बलमा पुनित मेहराले 'सर्ट कभर'मा अप्रत्याशित क्याच लिए ।
स्रिमन्था विजारत्ने २५ रन बनाउँदा मेहेराको बलमा सुनिल धमलाले स्लिपमा क्याच लिए ।
'डिप स्क्वाएर' लेगमा सन्दीप जोरालाई शाहाबको बलिङमा दिलिप नाथले क्याच आउट गराए ।
व्यक्तिगत ३ विकेट लिने क्रममा शाहाबले अमृत याधबलाई आकर्षक 'कट एण्ड बोल्ड' गरे । त्यस्तै जयद आलमको बलमा मन्जित श्रेष्ठ 'क्लिन बोल्ड' हुँदा सौरभ खनाललाई नोमनले जितेन्द्र मुखियाको हातबाट आउट गराए ।