काठमाडौं । मलेसियामा जारी मलेसियन प्रिमियर लिग क्रिकेटमा क्वालालम्पुरबाट खेल खेलिरहेका नेपाली क्रिकेटर सागर पुनले शानदार प्रदर्शन गरेका छन् । सागरले उत्कृष्ट प्रदर्शन गरेपछि शनिबार क्वालालम्पुरले सिलानगोरलाई २०४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
क्वालालम्पुरको जितमा सागरले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङतर्फ शतकीय पारी खेल्ने क्रममा सागरले १२९ बलमा १२ चौका र २ छक्कासहित १०९ रन जोडे । सागरले शतकीय पारी खेलेपछि क्वालालम्पुरले सिलानगोरलाई २८२ रनको फराकिलो लक्ष्य दिएको थियो ।
क्वालालम्पुरले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २८१ रन जोडेको थियो । यस्तै क्वालालम्पुरको लागि कप्तान अहमेद फैजले ७४ तथा सैफुल्लाह मालिकले ३९ रन बनाए । यसै क्लबबाट खेलिरहेका नेपालका आसिफ शेखले अविजित १४ रन जोडे ।
क्वालालम्पुरले दिएको २८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिलानगोर २४ ओभर २ बलमा ७७ रन जोड्दा अलआउट भयो । सिलानगोरका मोहमद आरिफले २८ तथा निशान्त कुमार र शंकर साथीसले समान १६/१६ रन जोडे ।
सिलानगोरलाई सस्तैमा समेट्न क्वालालम्पुरका पवन्दीप सिंहले २१ रन खर्चेर ५ विकेट लिए । यस्तै सागरले २५ रन खर्चदै २ विकेट लिए । खेलमा सागर म्यान अफ दि म्याच चुनिए ।
यो जितसंगै क्वालालम्पुरले ७ खेलबाट ७ जितसहित १४ अंक जोडेको छ । र, क्वालालम्पुर लिगको शीर्ष स्थानमा रहेको छ ।