पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन खेलमा पोखरा पल्टनका ब्याट्सम्यान कुशल भुर्तेलले आइतबार अर्धशतक बनाए ।
पोखरा रंगशालामा कुशलले अर्धशतक बनाएपछि साविक विजेता पोखराले काठमाडौं गोल्डन्सलाई ९ विकेटले पराजित गरेको थियो ।
कुशल पीपीएलको दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समेत बने । तर, कुशल आफ्नो प्रदर्शनबाट भने सन्तुष्ट छैनन् ।
कुशलले आफ्नो टिमले सोचेजस्तो सुरुवात गरेपनि आफ्नो व्यक्तिगत प्रदर्शनबाट खुसी नरहेको बताए ।
'पहिलो खेलमा राम्रो सुरुआत गर्न खोजेको थिएँ । सोचे जस्तै भयो । आफ्नो प्रदर्शनबाट खुसी भने छैन,' खेलपछि कुशलले भने, 'अविजित हुँदै अर्धशतक पुरा गरे । यसले आत्मविश्वास बढेको छ । आउने खेलमा अझ राम्रो खेल्ने प्रयास गर्नेछु ।'
पोखरालाई सहज जित दिलाउन ४३ बल खेलेका कुशलले अविजित ६५ रन बनाए । अर्धशतक प्रहार गर्ने क्रममा कुशलले ४ चौका र ३ छक्का प्रहार गर्दै ३४ बलमा ५० रन बनाएका थिए ।
कुशल खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।
यस्तै कुशलले राष्ट्रिय टिममा डेब्यु गरेपछि आफुमा आत्मविश्वास बढेको र अर्धशतक प्रहार गर्न सफल भएको बताए ।
'राष्ट्रिय टिममा खेलेपछि मेरो खेलमा सुधार आएको छ,' कुशलले भने, 'ठुलो स्तरमा खेलेको कारण यस्तो प्रतियोगितामा खेल्न सहज हुँदो रहेछ ।'
कुशलले गत महिना बंगलादेशमा भएको इमर्जिङ टिम्स एसिया कपमा भारत यू-२३ विरुद्ध डेब्यु गरेका थिए । उक्त प्रतियोगितामा तीन खेलमा कुशलले कुल ३९ रन बनाएका थिए ।