पोखरा । साविक विजेता पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेनलाई ९ विकेटले पराजित गर्दै पोखराले सुखद सुरुवात गरेको हो ।
काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
पोखराको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । ४३ बल खेलेका उनले अविजित ६५ रन बनाए । अर्धशतक प्रहार गर्ने क्रममा कुशलले ४ चौका र ३ छक्का प्रहार गर्दै ३४ बलमा ५० रन बनाएका थिए ।
यस्तै पोखराका रबिइन्दर सिंहले अविजित ३८ रन बनाए । आसिफ शेख १४ रनमा आउट भए । काठमाडौंका सुशन भारीले १ विकेट लिए ।
चौथो ओभरको दोस्रो बलमा सुशन भारीले आसिफलाई एलबिडब्लु मार्फत काठमाडौंलाई पहिलो विकेट दिलाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।
खराब सुरुवात गरेको काठमाडौंले ९ ओभर २ बलमा ५ विकेट गुमाएर मात्र ५० रन जोडेको थियो । तर, सुबोध भाटीले आक्रमक इनिङ्स खेलेपछि काठमाडौंले सम्मानजनक स्कोर बनाएको थियो ।
आक्रमक ब्याटिङ गरेका उनले ४ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै गौरभ तमोरले १३ र सुशन भारीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पोखराका कुशल मल्ल, रशिद खान र ललित नारायण राजबंशीले समान २/२ विकेट लिए । यस्तै प्रथामेस डाके र सर्वोजित लड्डाले १/१ विकेट लिए ।
प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेनले बुटवल ब्लास्टर्सको सामना गर्नेछ ।