पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) को पहिलो खेलमा काठमाडौं गोल्डनले साविक विजेता पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा आइतबार काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।
घरेलु टोली पोखराले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले खराब सुरवात गरेको थियो । ११ औं ओभरमा ५ विकेट गुमाएर ५० रन पुरा गरेको काठमाडौंका सुबोध भाटीले आक्रमक इनिङ्स खेलेपछि सम्मानजनक स्कोरमा पुगेको थियो ।
आक्रमक ब्याटिङ गरेका उनले ४ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै गौरभ तमोरले १३ र सुशन भारीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
२ ओभर ४ बलमा जयकिशन कोल्सावाला प्रथामेस डाकेको बलमा विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट भए । यस्तै ३ ओभर २ बलको स्थितिमा ललित नारायण राजबंशीको बलमा सुबास खकुरेल १० रन बनाउँदा सर्ट थर्ड म्यानको दिशामा क्याच आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्ल ४ ओभर २ बलमा रशिद खानको बलमा मात्र १ रनमा बोल्ड हुँदा छैठौं ओभरमा ललितलाई लगातार दुई छक्का प्रहार गरेका गौरभ तोमारलाई लगत्तै लङ अफको दिशामा कुशल भुर्तेलको हातबाट क्याच आउट भए ।
कुशल मल्लले आफ्नो व्यक्तिगत दोस्रो बलमा पवन सर्राफलाई ६ रनमा क्याच आउट गराए । १२ औं ओभरमा कुशलले पृथु बास्कोटालाई आफ्नै बलिङमा आफैले उत्कृष्ट क्याच लिए ।
१६ औं ओभरमा पोखराका कप्तान शरद भेसावाकरलाई लगातार २ छक्का र १ चौका प्रहार गर्दै अर्धशतक नजिक पुगेका भाटीलाई १७ औं ओभरमा सर्वोजित लड्डाको बलमा आसिफ शेखको हातबाट क्याच आउट भए ।
बसन्त रेग्मीलाई रशिदले बोल्ड गर्दा सुशन १० र अमृत भट्टराई १ रनमा अविजित रहे ।
पोखराका कुशल मल्ल, रशिद खान र ललित नारायण राजबंशीले समान २/२ विकेट लिए । यस्तै प्रथामेस डाके र सर्वोजित लड्डाले १/१ विकेट लिए ।
पुस १२ सम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ ।
६ फ्रेन्चाइज टिमम सहभागी लिगमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । लिग चरण सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ ।
दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।