पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटकाे उद्घाटन खेलमा पाेखरा पल्टनले टस जितेर सुरुमा फिल्डिङ गर्ने भएकाे छ ।
पोखरा क्रिकेट रंगशालामा घरेलु टाेली पाेखराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएकाे हाे । अब काठमाडौं ब्याटिङ्गमा उत्रने छ ।
शरद भेषवाकरको कप्तानीमा रहेको घरेलु टिम पोखरा साविकको विजेता समेत हो ।
राष्ट्रिय टिमको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेकाे काठमाडौं गत संस्करणमा इलिमिनेटरबाट बाहिरिएको थियो ।
शनिबारबाट औपचारिक सुरुवात हुने भनिएको प्रतियोगिता खराब मौषमका कारणले एक दिन पछाडी धकेलिएको थियो ।
प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १० लाख रुपैयाँ पाउने छ ।
प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । 'म्यान अफ दि सिरिज', उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने छ ।
प्रतियोगिताको 'मोस्ट भ्यालुएबल' खेलाडीलाई १ लाख र 'ईमर्जिङ्ग' खेलाडीलाई ५० हजार रुपैंया दिइनेछ ।
पुस १२ सम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ ।
जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । लिग चरण सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ ।
दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।
(पाेखरा पल्टनले टस जितेर सुरुमा फिल्डिङ गर्ने हुनुपर्नेमा अन्य भएकाेमा सच्चाइएकाे छ । - सम्पादक)