काठमाडौं । जापानमा हुने सन् २०२० को ओलम्पिकको लागि नेपाली महिला फुटबल टोलीले छनोट खेल खेल्ने भएका छन् । नेपालले टोकियो ओलम्पिकको लागि एसिया छनोटमा सहभागिता जनाउने भएका हुन् ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले निकालेको छनोटको पहिलो चरणको खेल तालिकामा नेपाल समूह 'सी' मा परेको छ । नेपालको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् ।
पछिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह 'ए' र 'बी' मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह 'सी' र 'डी' मा चार चार टोली रहेका छन् । प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
दोस्रो चरणको छनोटमा भियतनाम र उज्वेकिस्तानसहित १२ टोलीले खेल्नेछन् । तीन समूहमा विभाजन गरिने दोस्रो चरणको छनोटबाट समूहको शीर्ष टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन् ।
तेस्रो चरणमा चीन, अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्याण्ड जस्ता राष्ट्रसंग खेल्नेछन् । तेस्रो चरणको छनोटआठ टोलीले खेल्नेछन् । दुई समूहको शीर्ष दुई टोलीले फाइनल चरणको यात्रा गर्ने छन् । फाइनल चरणका दुई टोलीले टोकियो ओलम्पिक खेल्ने छन् ।
छनोट अन्तर्गत नेपालको समूहको छनोट खेल नोभेम्बर ८ देखी ११ सम्म हुनेछ । नेपालले नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसंग खेल्नेछन् । तर, खेल आयोजना हुने स्थलको तय भएको छैन ।
छनोट प्रतियोगिताको लागि नेपालले तयारी सुरु गरिसकेको छ । खेलाडी छनोटको लागि अखिल नेपाल फुटबल संघ एन्फाले यसै साता उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग आयोजना गरेको थियो ।
यसै लिगबाट एन्फाले बन्द प्रशिक्षणको लागि खेलाडी छनोट गर्नेछ । यो छनोटको लागि नेपालले चीनसंग मैत्रिपूर्ण खेलको लागि तयारी गरिरहेको महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले जानकारी गराए ।