एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर अर्तुरो भिदाल स्पेनिस क्लब बार्सिलोना आउने पक्का भएको छ । भिदाललाई भित्र्याउन बार्सिलोना र बायर्न सहमति नजिक पुगेको बताईएको छ ।
बार्सिलोनाले केहि दिनमा भिदालसंग तीन बर्षे सम्झौता गर्ने बिबिसीले समाचार लेखेको छ । यस्तै केहि दिनमा भिदालले स्पेनमा मेडिकल गर्ने बताईएको छ । तर, अनुबन्ध रकम खुलाईएको छैन ।
भिदालको अनुबन्ध बारे बार्सिलोनाले भनेको, 'भिदालको ट्रान्सफरबारे बार्सिलोना र बायर्न सहमति नजिक पुगेको छ । बार्सिलोनाले चाडैं खेलाडीको आगमन र सार्वजनिक बारे सबैलाई जानकारी दिनेछ ।'
बायर्नले पनि सामाजिक संजालबाट भिदाल स्पेन जाने पक्का भएको जनाएको छ । बायर्नले भनेको छ, 'सबै योगदानप्रति क्लब भिदाललाई धन्यवाद दिन चाहन्छ । र, स्पेनमा शुभकामना दिन चाहन्छु ।'
चिलीका ३१ बर्षीय भिदाल सन् २०१५ मा इटालियन क्लब युभेन्ट्सबाट बायर्न आएका थिए । भिदालले बायर्नबाट तीन बुन्डेस लिगा, दुई जर्मन सुपर कप र एक जर्मन कप जितेका छन् ।
भिदालले चिलीका लागि १०० क्याप खेलेका छन् । चिलीले सन् २०१५ को कोपा अमेरिका जित्दा भिदाल महत्वपूर्ण खेलाडी थिए ।