काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।
पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको हो । सहभागी ६ टिमको कप्तानले ट्रफी सार्वजनिक गरेका थिए ।
प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएपनि खेलहरु भने एक दिन ढिला सुरु हुने भएको छ । शुक्रबार परेको वर्षाको कारण खेल आइतबारबाट मात्र सुरु हुने आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले जनाएको छ । यस अघि शनिबारबाट खेल हुने तालिका रहेको थियो ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ । उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने छ ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नो ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया दिइनेछ ।
पुस १२ सम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् ।
लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।
उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्ने छ ।