काठमाडौं । नेपालले युवा खेलाडी रोहित कुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने विश्वकै चौथो खेलाडी बनेका छन् ।
नेदरल्याण्डविरुद्ध आज भएको खेलमा मैदान उत्रदै रोहित एकदिवसीयमा कम उमेरमा डेब्यु गर्ने चौथो खेलाडी बनेका हुन् । नेदरल्याण्डविरुद्ध मैदान उत्रदा रोहित १५ वर्ष ३३५ दिनका भएका छन् ।
यसअघि नेपालबाट एकदिवसीयमा डेब्यु गर्ने कम उमेरका खेलाडीमा स्पिनर सन्दीप लामिछाने रहेका थिए । सन्दीपले १७ वर्ष ३६४ दिनमा डेब्यु गरेका थिए ।
रोहितको डेब्यु खेलमा नेपालले नेदरल्याण्डलाई १ रनले हराएको छ । र, रोहितले डेब्यु खेलमा ६ रन जोडेका थिए । रोहितले गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन-२ बाट नेपाली टोलीमा डेब्यु गरेका थिए ।
विश्वकै कम उमेरमा डेब्यु गर्ने खेलाडीको किर्तिमान भने पाकिस्तानका हसन राजाको नाममा रहेको छ । राजाले सन् १९९६ मा जिम्बाबेविरुद्ध १४ वर्ष २३३ दिनको उमेरमा डेब्यु गरेका थिए।
यस्तै केन्याका गुरदीप सिंह १५ वर्ष २५८ दिनको उमेरमा डेब्यु गर्दै दोस्रो कम उमेरमा डेब्यु गर्ने खेलाडीको सूचीमा छन् । त्यस्तै क्यानडाका नितिश कुमारले १५ वर्ष २७३ दिनको उमेरमा डेब्यु गर्दै रोहितभन्दा अघि रहेका छन् ।