काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी खेलाडीको वरियतामा नेपालका ४ खेलाडी अटाएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडी परेका हुन् । नयाँ वरियतामा पूर्व पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने अटाएका छन् ।
वरियताको अलराउण्डरतर्फ पारस २५ औं स्थानमा रहेका छन् । ८ स्थान फड्को मार्दै पारस अलराउण्डरमा अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डय, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेष्ट इण्डिजका आन्द्रे रसेल भन्दा भन्दा अघि रहेका छन् ।
यस्तै अलराउण्डरतर्फ करणको वरियतामा समेत सुधार भएको छ । यसअघि ८४ औं स्थानमा रहेका उनी नयाँ वरियतामा ७४ औं स्थानमा रहन सफल छन् ।
यता सोमपालको अलराउण्ड वरियतामा ७ स्थान तल झरेको छ । यसअघि ६० औं स्थानमा रहेका उनी अहिले ६७ औं स्थानमा छन् ।
यस्तै पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् । ब्याटिङतर्फ ६० औं स्थानमा रहेका छन् । उनको ब्याटिङ वरियतामा ५ स्थान तल खस्किएको हो । यसअघि उनी ५५ औं स्थानमा थिए ।
बलिङको वरियतामा सन्दीप मात्र अटाएका छन् । ३९० अंक पाएका सन्दीप ६ स्थान तल घरदै ८४ औं स्थानमा छन् । यस्तै यस अघिको बलिङ वरियतामा ९५ औं स्थानमा रहेका सोमपालले यस पटक सय भित्र स्थान बनाउन सकेनन् ।