काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्ने भएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै विजेताले २७ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने छ ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नो ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया दिइनेछ ।
शनिबार सुरु हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगिता पोखरा रंगशालामा आयोजना हुनेछ ।
लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् ।
लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।
उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्ने छ ।