काठमाडौं । नेपालले दिएको २१७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको घरेलु टोली नेदरल्याण्डले सातौं विकेट गुमाएको छ ।
भिआरए मैदानमा ललित भण्डारीले नेपाललाई सातौं सफलता दिलाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २१६ रन बनाएको थियो ।
नेपालको उच्च लक्ष्यमा कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका कप्तान पारसले ६९ बलमा ५१ रन जोडे ।
यस्तै अर्धशतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका सोमपालले ४६ बलमा ६१ रनको अर्धशतकीय पारी खेले । निकै आक्रामक ब्याटिङ गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै नेपालका लागि सुबास खकुरेल र दिपेन्द्र सिह ऐरीले समान १९/१९ रन जोड्दा आरिफ शेख १६ तथा ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए । नेपालका सन्दीप लामिछाने ८, रोहित कुमार पौडेल ६, अनिल साह ४ रनमा आउट हुँदा ललित भण्डारी ४ रनमा अविजित रहे ।
नेदरल्याण्डका फ्रेड क्लासेनले ३ तथा माइकल रिप्पोन र पिटर सीलरले २/२ विकेट लिए ।