काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ ।
सोमबार भएको फाइनलमा श्रीलंकाको यू-२३ टिमलाई पराजित गर्दै बंगलादेश यू-२३ टिमले स्वर्ण जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गर्यो ।
१ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
उसका कप्तान नाजमुल होसेन सान्तोले सर्वाधिक अविजित ३५ रन बनाए । यस्तै सैफ हसनले ३३ रन, सौम्या सरकारले २७, यासिर अलिले १९ र आफिफ होसेनले अविजित ५ रन बनाए ।
श्रीलंकाका कामिन्दु मेण्डिस सचिन्दु चोलोम्बाजले समान १/१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २२ रन बनायो । उसका शम्मु अशानले २५ रन बनाए । यस्तै पथुम निस्सान्काले २२ तथा निशान फर्नान्डोले १६ रनको योगदान गरे ।
बंगलादेशका हसन महमुदले ३ तथा तान्भिर इस्लामले २ विकेट हात पारे ।
पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ । सोमबार बिहान नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक हात पारेको हो ।