काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत आज (सोमबार) भिड्दैछन् ।
पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।
राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाईनल चरण प्रवेश गरेका हुन् । भारत लिग विजेता र नेपाल उपविजेताको रुपमा उपाधि भिडन्त पक्का गरेका हुन् ।
दक्षिण एसियाली महिला फुटबलमा भारत सधै नेपालको बाधक बन्दै आएको छ । लिग चरणको खेलमा समेत भारतले नेपाललाई १–० ले हराएको थियो ।
अधिकांश समय भारतविरुद्व हावी देखिएपनि नेपालले गोल गर्न भने सकेन । फाईनल खेलमा नेपाल सोही कमजोरी सुधार गर्दै स्वर्ण जित्ने दाउमा छ ।
नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ । सागमा स्वर्णको लक्ष्य सहित नेपाली महिला टिमले निरन्तर प्रशिक्षण गर्दै आएको थियो ।
पोखरा रंगशालामा घरेलु दर्शकका लागि साक्षी राखेर पहिलो ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा नेपाल हुनेछ ।
नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो ।
दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले हराएको थियो । यस्तै लिग चरणको अन्तिम खेलमा भारतसंग १–० ले पराजित भएको थियो ।