काठमडौं । श्रीलंकासँग अन्तिम समयमा एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालको यू–२३ टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भनेका थिए, ‘फुटबलमा लगातार खेल्नुको बेफाइदा देखियो ।’
भुटानविरुद्व ४–० को जित निकालेको नेपालले २४ घण्टा बित्न नपाउँदै श्रींलकासँग दोस्रो खेल खेलेको थियो । अन्तिम समयमा नेपाल बराबरीमा रोकियो ।
फेरि एक पटक २४ घण्टा बित्न नपाउँदै नेपालले साग फुटबलको फाईनल प्रवेशका लागि बंगलादेशसंग खेल्दैछ ।
यसपटक प्रशिक्षक बालगोपाल महर्जन खेलको तालिकालाई दोष दिने ठाउँमा छैनन् । उनको एक दोषले टिम फाइनल पुग्नबाट बञ्चित हुनेछ ।
पुनर्निमाण भएको दशरथ रंगशालामा भरिभराउ दर्शकको साथ पाएको नेपालले शनिबार माल्दिभ्सविरुद्ध पुनरागमन जित निकाल्यो । एक गोलले पछि परेको नेपाललाई जित दिलाउन अभिषेक रिजाल र अनन्त तामाङले गोल गरेक थिए ।
सागको पूरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउण्ड रोविनमा जारी छ । प्रतियोगितालाई फिफाले मान्यता दिएको छैन ।
त्यसैले प्रत्येक टिम २४ घण्टा बित्न नपाउँदै दुई खेल खेल्न बाध्य छन् । तालिकाको श्रीलंका र माल्दिभ्सका प्रशिक्षकले खुलेरै बिरोध गरेका थिए ।
घरेलु टिमका प्रशिक्षक बालगोपाल महर्जनले भने विरोध गर्न सकेका छैनन् । बंगलादेशसँग खेल्दै जित निकाल्नुपर्ने चुनौती उनीसंग छ ।
खेल साँझ ५ बजे सुरु हुनेछ ।
दशरथ रंगशालामा हुने खेलमा नेपाललाई फाइनल पुग्न बराबरीनै पर्याप्त हुनेछ । बंगलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन ।
बंगलादेशसँग नेपाल पराजित भएमा हेड टु हेडका आधारमा बंगलादेश फाइनलमा पुग्नेछ ।
नेपालसँग मात्रै पराजित भुटान ४ खेलबाट ९ अंक सहित फाईनल पुग्ने पहिलो टोली बनेको छ । नेपालको ७ अंक रहँदा बंगलादेशको ४ अंक रहेको छ । श्रीलंका र माल्दिभ्सको भने समान २–२ अंक रहेको छ ।
नेपाल र बंगलादेश बीचको विजेताले सागको स्वर्ण पदका लागि भुटानसंग खेल्नेछन् ।