काठमाडौं । नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली नेदरल्याण्डलाई जितका लागि २१७ रनको लक्ष्य दिएको छ ।
भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २१६ रन बनाएको हो । नेपालले दिएको २१७ रनको लक्ष्यसहित नेदरल्याण्डले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपालको उच्च लक्ष्यमा कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका कप्तान पारसले ६९ बलमा ५१ रन जोडे ।
यस्तै अर्धशतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका सोमपालले ४६ बलमा ६१ रनको अर्धशतकीय पारी खेले । निकै आक्रामक ब्याटिङ गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै नेपालका लागि सुबास खकुरेल र दिपेन्द्र सिह ऐरीले समान १९/१९ रन जोड्दा आरिफ शेख १६ तथा ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए । नेपालका सन्दीप लामिछाने ८, रोहित कुमार पौडेल ६, अनिल साह ४ रनमा आउट हुँदा ललित भण्डारी ४ रनमा अविजित रहे ।
नेदरल्याण्डका फ्रेड क्लासेनले ३ तथा माइकल रिप्पोन र पिटर सीलरले २/२ विकेट लिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि दुई खेलको एकदिवसीय सिरिज खेल्न नेदरल्याण्ड पुगेको नेपालले आज दोस्रो तथा अन्तिम खेल खेलिरहेको हो । यसअघि बुधबार भएको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले हारेको थियो ।
हारबाट एकदिवसीय क्रिकेटमा पाइला चालेको नेपाल दोस्रो खेलमा भने जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । र, नेपाल दुई खेलको सिरिजलाई बराबरी गर्न चाहन्छ । यता, नेदरल्याण्ड पनि सिरिजमा क्लिन स्विप गर्ने लक्ष्यमा हुनेछ ।
गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।
नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।
नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो । नेदरल्याण्डविरुद्धको दुई खेलको सिरिजपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।