काठमाडौं । भुटान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा श्रीलंकालाई ३-० ले पराजित गर्दै भुटान स्वर्ण नजिक पुगेको हो ।
योसँगै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ । यस अघि समूह चरणबाटै बाहिरिदै आएको भुटानको यो ऐतिहासिक सफलता हो ।
खेलको १९ औं मिनेटमा छिमी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा दावा छिरिङले पेनाल्टीमा गोल गर्दै भुटानलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा एशि दोर्जीले गोल गर्दै भुटानलाई ३-० को जित दिलाए ।
जितसँगै भुटानले ४ खेलमा ९ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ ।
अब भुटानले स्वर्ण पदकको लागि नेपाल र बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ ।
आइतबार हुने बंगलादेश र नेपालबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी खेल्नु पर्ने हुन्छ । पराजित भए नेपालको फाइनल सम्भावना सकिनेछ ।
दोस्रो स्थानमा रहेको नेपालको ७ अंक रहेको छ । बंगलादेशको ४ अंक रहेको छ ।