काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेको छ ।
खेलमा सुरुवाती अग्रता भने माल्दिभ्सले बनाएको थियो ।
खेलको १८ औं मिनेटमा माल्दिभ्सका यू-१९ टिमका कप्तान समेत रहेका इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई खेलमा फर्काए । अभिषेकले डिबक्स बाहिरबाट भली गोल गरेका थिए ।
आज माल्दिभ्सविरुद्ध नेपाल जित निकाल्दै फाइनल नजिक पुग्ने योजनामा रहेको छ ।
नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।
नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।