काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालको स्वर्ण सपना सकिएको छ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू- २३ टिमसंग ४४ रनले पराजित भएसंगै नेपालको स्वर्ण सपना समाप्त भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । खराब सुरुवात गरेको नेपालले १४ रनमा ३ विकेट गुमाएको थियो ।
नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए ।
उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन् ।
बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २/२ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनाएकाे थियो ।
खराब सुरुवात गरेको बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेपछी बंगलादेश लयमा फर्किएको थियो ।
उसका नाजमुल होसेन सान्तो र आफिफ होसेनले अर्धशतकीय पाली खेले । ६० बलको सामना गरेका सान्तोले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए । यस्तै आफिफ होसेनले ५२ रन बनाए ।
नेपालका पारस खड्काले ३ विकेट हात पारे । दिपेन्द्र सिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए ।
जित हात पार्दै फाइनलमा स्थान पक्का गर्ने नेपालको लक्ष्य रहेको थियो । तर बंगलादेशसंगको हारसंगै नेपाल फाइनल पुग्नबाट बन्चित भएको छ ।
चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
नेपालले ४ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । यस्तै शुक्रबार माल्दिभ्सलाई सहजै पराजित गरेको थियो ।
बंगलादेश यू-२३ ले ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
यस्तै श्रीलंका यू-२३ समेत ३ खेलमा ६ अंकका साथ् तालिकाको दोस्रो स्थानमा छ । श्रीलंका र बंगलादेश एक खेल अगावै फाइनल प्रवेस गरेका छन् ।
अब नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने छ ।