काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ ।
शुक्रबार भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो ।
किर्तिपुरस्थित त्रिवि मैदानमा १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभारमा ६ विकेट गुमाएर ७९ रन बनायो ।
माल्दिभ्सका लागि मोहमद आजमले सर्वाधिक १७ रनको अविजित इनिङस खेल्दा मोहमद रिस्वानले १३ रन बनाए । यस्तै अलि इभानले ११ रन बनाए । माल्दिभ्सका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालले सुशन भारी र ललित राजवंशीले समान २/२ विकेट लिए । पवन सर्राफले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
नेपालका करण केसीले अविजित रहदै सर्वाधिक ४० रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९/१९ रन बनाउँदा आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रन बनाए ।
माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे ।
जितसंगै नेपालले फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । तीन खेलमा दुई जित हात पारेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
माल्दिभ्स भने तीन खेलमा अंक विहीन रहेको छ र एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
यस अघि नेपाल पहिलो खेलमा टेष्ट राष्ट्र श्रीलंकाको यू-२३ सँग ६ विकेटले जित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानमाथि १ सय ४१ रनको कीर्तिमानी जित निकालेको थियो ।
फाइनल पुग्न अब अन्तिम खेलमा नेपालले बंगलादेश यू-२३ लाई जित्ने पर्ने दबाब रहने छ ।
श्रीलंका यू-२३ तीन खेलमा ३ जित हात पार्दै अंक तालिकाको पहिलो स्थानमा रहेको छ भने बंगलादेश यू-२३ दुई खेलमा २ जित हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।