पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालको स्वर्ण सपना सकिएको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको लिगको अन्तिम खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना सकिएको हो ।
स्वर्ण सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो ।
श्रीलंकाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यस्तै कबिता कुवरले अविजित १३, करुणा भण्डारीले १२ तथा अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
श्रीलंकाकी सचिनी निसान्सालाले ३ तथा सत्या संदीपानीले २ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनायो । उसका लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५ तथा सत्याले २२ रनको योगदान गरे ।
नेपालकी सन्तोषी कुमारी र सोनु खड्काले समान २/२ विकेट हात पारिन् ।
नेपाललाई हराएसँगै श्रीलंका फाइनलमा प्रवेश गरेको छ । अब श्रीलंकाले बंगलादेशसँग खेल्नेछ ।
बंगलादेशले ३ खेलमा ३ जित हात पार्दा श्रीलंकाले समान खेलमा २ खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालले ३ खेलमा २ अंक जोड्यो । अब नेपालले कास्यको लागि माल्दिभ्ससँग खेल्नेछ ।