काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज (शुक्रबार) माल्दिभ्सको सामना गर्दैछ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले अपरान्ह १ बजेपछि माल्दिभ्ससँग खेल्नेछ । तुलनात्मक कमजोर टिम माल्दिभ्सविरुद्ध मैदान उत्रदा सहज जितको खोजीमा हुनेछ ।
साग क्रिकेटको फाइनल सम्भावना कायम राख्न नेपाललाई माल्दिभ्समाथिको जित अनिवार्य रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
नेपालले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो ।
माल्दिभ्सविरुद्ध पनि नेपाल कीर्तिमानी जितको योजनामा रहेको छ । माल्दिभ्सले २ खेलमा अंक जोड्न सकेको छैन ।
तीन खेलमा अपराजित श्रीलंका ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
शुक्रबार नै बंगलादेशको यू-२३ ले भुटानको सामना गर्नेछ ।