पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले आज (शुक्रबार) टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ ।
पोखरा रंगशालामा हुने खेल बिहान १०:४५ बजे सुरु हुनेछ । सागमा स्वर्ण जित्ने लक्ष्य लिएको नेपाली महिला टिमका लागि श्रीलंकासँगको खेल निकै महत्वपूर्ण रहेको छ ।
सागको फाइनलमा पुग्न श्रीलंकालाई हराउँनै पर्ने दबाबमा नेपाल रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ ।
नेपालले २ खेलमा २ अंक जोडेको छ । नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ । श्रीलंका २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । श्रीलंकालाई पनि फाइनल पुग्न जित्नै पर्ने दबाब रहेको छ ।
राउण्ड रोबिनको आधारमा जारी महिला क्रिकेटको शीर्ष दुई टिमले स्वर्णका लागि खेल्नेछन् ।
३ खेलमा अपराजित बंगलादेश ६ अंक जोडेर फाइनल पुगिसकेको छ । अब श्रीलंका र नेपालबीचको विजेताले फाइनल यात्रा तय गर्नेछ ।
यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो । यस्तै टेष्ट राष्ट्र बंगलादेशसंग १० विकेटको हार ब्यहोरेको थियो ।
श्रीलंकासँगको अघिल्ला दुई भेटमा नेपालले जित भने निकाल्न सकेको छैन । तर, घरेलु भूमिमा नेपाललाई श्रीलंकालाई हराउने अवसर रहेको छ ।