काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले बिहिबार भुटानसँग खेल्यो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले भुटानलाई १ सय ४१ रनले पराजित गर्यो ।
भुटानमाथिको जित सागमा नेपालको पहिलो जित हो ।
भुटानविरुद्ध फराकिलो जित निकाल्ने क्रममा नेपालले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा केहि कीर्तिमानहरु बनाएको छ ।
नेपालले बनाएको कीर्तिमानहरु तल उल्लेख गरिएको छ ।
१. टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक स्कोर
भुटानविरुद्ध नेपालले बनाएको २ सय ३६ रन टी-ट्वान्टी क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोर हो । यसअघि नेपालले मलेसियाविरुद्ध १ सय ७३ रन बनाएको थियो ।
२. सर्वाधिक व्यक्तिगत स्कोर
कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गर्दा भुटानविरुद्ध १ सय ७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सर्वाधिक स्कोर हो । यसअघि पूर्व कप्तान पारस खड्काले सिंगापुरविरुद्ध १ सय ६ रनमा अविजित रहेका थिए ।
३. १ सय ८ रनको ओपनिङ साझेदारी
नेपालको सधैको कमजोरी रहेको ओपनिङ साझेदारीको इतिहासमा एक नयाँ कीर्तिमान बनेको छ । नेपालले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा शतकीय साझेदारी गरेको हो ।
भुटानविरुद्ध नेपालका ओपनर पारस र ज्ञानेन्द्रले गरेको १ सय ८ रनको साझेदारी हालसम्मको नेपालको ठुलो ओपनिङ साझेदारी हो ।
४. शतक प्रहार गर्ने दोस्रो खेलाडी
कप्तान ज्ञानेन्द्र टी-ट्वान्टी अन्तराष्ट्रीय क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि पारसले मात्र टी ट्वान्टी अन्तराष्ट्रीयमा शतक प्रहार गरेका थिए ।
५. फराकिलो जित
नेपालले भुटानमाथि निकालेको १ सय ४१ रनको जित हालसम्मको टी-ट्वान्टी अन्तराष्ट्रीयमा नेपालको रन अन्तरमा फराकिको जित हो । यसअघि नेपालले हङकङलाई ८० रनको अन्तरले पराजित गरेको थियो ।
६. सर्वाधिक छक्का
एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली खेलाडीको सुचिमा ज्ञानेन्द्रले पारसको कीर्तिमानसँग बराबरी गरेका छन् । पारसले सिंगापुरविरुद्ध प्रहार गरेको ९ छक्काको किर्तिमान ज्ञानेन्द्रले भुटाविरुद्ध बराबरी गरेका हुन् ।
यस्तै पारस र ज्ञानेन्द्र दुवै टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सर्वाधिक छक्का प्रहार गर्ने विश्वका १६ औं खेलाडीको स्थानमा रहन सफल भएका छन् ।