काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अनतर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले ।
५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए । शतकसंगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।
यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए ।
भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।
भुटानविरुद्ध नेपालका राशिद खानले टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका छन् ।
कमजोर प्रतिद्वन्दी भुटानविरुद्ध अंक जोड्दै नेपाल फाइनल पुग्ने आशा जिवित राख्ने लक्ष्यमा रहेको छ ।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू-२३ संग पराजित भएको थियो । त्यसैले फाइनल पुग्न नेपाललाई जितको विकल्प छैन ।
भुटान समेत आफ्नो पहिलो खेलमा श्रीलंका यू-२३ संग पराजित भएको थियो । बुधबार भएको खेलमा भुटान श्रीलंका यू-२३ संग १ सय ७३ रनले पराजित भएको थियो ।
एक खेलमा एक हार ब्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलमा समान नतिजा निकालेको भुटान तालिकाको पुछारमा छ ।