काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा आज बिहिबार दुई खेल हुँदैछ ।
किर्तिपुरथित टियु मैदानमा हुने पहिलो खेलमा नेपालले भुटान र दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू-२३ टिमसँग खेल्नेछ ।
नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु हुनेछ । भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी-ट्वान्टी अन्तराष्ट्रिय खेल हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रँदा नेपाल सहज जितको खोजीमा हुनेछ । कमजोर प्रतिद्वन्दी भुटानविरुद्ध अंक जोड्दै नेपाल फाइनल पुग्ने आशा जिवित राख्न चाहन्छ ।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू-२३ संग पराजित भएको थियो । त्यसैले फाइनल पुग्न नेपाललाई जितको विकल्प छैन ।
भुटान समेत आफ्नो पहिलो खेलमा श्रीलंका यू-२३ संग पराजित भएको थियो । बुधबार भएको खेलमा भुटान श्रीलंका यू-२३ संग १ सय ७३ रनले पराजित भएको थियो ।
एक खेलमा एक हार ब्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलमा समान नतिजा निकालेको भुटान तालिकाको पुछारमा छ ।
यस्तै माल्दिभ्स र श्रीलंका यू-२३ बीच दिउँसो १ बजे पछि प्रतिस्पर्धा हुनेछ । दुई खेलमा दुई जित हात पारेको श्रीलंका फाइनल प्रवेश पक्का गर्न माल्दिभ्समाथि जित निकाल्न चाहान्छ ।
अंक तालिकामा श्रीलंका ४ अंक सहित शीर्ष स्थानमा रहेको छ भने माल्दिभ्स पुछारबाट दोस्रो स्थानमा छ ।