काठमाडौं । श्रीलंकासँग अन्तिम समय बराबरीमा रोकिएपछि नेपाली राष्ट्रिय यू-२३ टिमका प्रशिक्षक बालगोपाल महर्जनले लगातार खेल्दा त्यसको असर नतिजामा परेको बताएका छन् ।
१३ औं साग अन्तर्गत बुधबार भएको खेलमा नेपाल श्रीलंकासँग अन्तिम समयमा बराबरीमा रोकिन पुगेको थियो ।
कप्तान सुजल श्रेष्ठको पेनाल्टी मार्फत खेलको ३६ औं मिनेटमा अग्रता बनाएपनि श्रीलंकाले अतिरिक्त समयमा बराबरी गरेको थियो ।
श्रीलंकाको जुडे सपनले पेनाल्टी एरिया बाहिरबाट फ्रिकिकमा गोल गरेका थिए ।
खेलपछि पोष्ट म्याच कन्फेरेन्समा बोल्दै प्रशिक्षक महर्जनले नेपालले लगातार खेल्नुको फाइदा श्रीलंकाले लिएको बताए ।
‘श्रीलंकाले हिजो बिश्राम पाएको थियो । जसले गर्दा आज उसलाई फाइदा भयो । यसलेपनि खेलमा कति फरक पार्छ भन्ने देखाउँछ ।’ उनले भने ।
यस्तै प्रशिक्षक महर्जनले अन्तिम समय सम्हालिन नसक्दा बराबरीमा रोकिन पुगेको बताए ।
‘आज अंक नगुमाई तीन अंक लिने लक्ष्य थियो । तर दुई मिनेट सम्हालिन नसक्दा अंक बाँड्नुपर्यो । खेलमा ३–४ गोल गर्नुपथ्र्यो । तर अवसर सदुपयोग हुन सकेन ।’ उनले भने ।
प्रतियोगितामा दुई खेल खेलेको नेपालले ४ अंक भएको छ । यस अघि मंगलबार नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
कप्तान सुजल श्रेष्ठको गोलमा सुरुवाती अग्रता लिएको नेपाल श्रीलंकाली डिफेन्स सामु फिक्का देखियो ।
अब नेपालले शनिबार माल्दिभ्स र आईतबार बंगलादेशको सामना गर्नेछ ।
राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्नेछन् ।
प्रशिक्षक महर्जनले टिमको लक्ष्यनै फाइनल जित्ने रहेका कारण अबको दुई खेलमा कडा प्रतिस्पर्धा गर्दै जित हात पार्ने बताए ।
‘लक्ष्य फाइनल जित्ने हो । त्यसैले अब दुबै टिमलाई हराएर फाइनल खेल्छौं ।’ उनले भने ।