काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बुधबार बंगलादेशको यू-२३ र श्रीलंका यू-२३ ले जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा बंगलादेशले माल्दिभ्सलाई १०९ रनले पराजित गर्यो । बंगलादेशले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १९.२ ओभरमा ६५ रन मात्र बनाउन सक्यो ।
माल्दिभ्सको ब्याटिंगमा अलि इभानले १२ तथा एहमद हसनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशको लागि तन्भिर इश्लाम एक्लैले ५ विकेट लिए भने अबेदीन अफ्रिदी र अफिफ हुसेनले समान १–१ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।
बंगलादेशको लागि नज्लुल हुसेनले सर्वा्धिक ४९ रन, कप्तान सौम्य सरकारले ४६ रन तथा मोहम्मद नैमले ३८ रन बनाए। माल्दिभ्सको बलिंगमा इब्राहिम हसन, अज्यान फर्हाथ र मोहम्मद महफुजले समानले १–१ विकेट लिए।
प्रतियोगितामा बंगालदेशको यो लगातार दोश्रो जित हो। पहिलो खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।
यस्तै दोस्रो खेलमा श्रीलंकाको यू-२३ ले भुटानलाई १७३ रनले पराजित गरेको छ ।
श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ७५ रन मात्र बनाउन सक्यो।
भुटानको लागि रनजंग दोर्जीले सर्वा्धिक २२ तथा सोनाम टोबगेले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकाको बलिंगमा सचिन्दु कोलाम्बागे र जेहान ड्यानियलले समान २/२ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर २४८ रन बनाएको थियो।
श्रीलंकाको लागि पाथुम निस्संकाले सर्वाधिक ७६ रन तथा निशान मादुस्काले ६५ रन बनाए। भुटान बलर थिन्ले जम्तसो, कर्मा दोर्जी, तोबदेन सिंगे र तेन्जिन वांगचुकले समान १/१ विकेट लिए।