काठमाडौँ । नेपाली महिला क्रिकेटले अझै धेरै सिक्न बाँकी छ, यो दाबी प्रशिक्षक जगत टमाटाको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल दोस्रो खेलमा टेष्ट राष्ट्र बंगलादेशसंग पराजित भयो । लगत्तै प्रशिक्षण टमाटाले भने, हामीले अझै धेरै सिक्न बाँकी छ ।
पहिलो खेलमा कमजोर प्रतिद्वन्दी माल्दिभ्सविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको नेपालले टेष्ट राष्ट्र बंगलादेशसंग समान अन्तरको हार ब्यहोर्यो ।
एक्सपोजर र ठुला खेलको अवसर दिएमा महिला क्रिकेटको राम्रो सम्भावना रहेको टमाटा बताउँछन् ।
‘महिला क्रिकेटले धेरै सिक्नु बाँकी छ ।’ टमाटाले भने, ‘खेलाडीलाई एक्सपोजर र प्रतिस्पर्धात्मक खेल धेरै भन्दा धेरै चाहिएको छ ।’
लामो समयपछि टेष्ट राष्ट्रसंग खेलेको नेपाललाई बंगलादेशले खुलेर खेल्न दिएन । सुरुवातदेखि दबाब बनाएको बंगलादेशले नेपाललाई ५० रनमा सिमित बनायो । बलिङमा समेत उसले नेपाली खेलाडीलाई कुनै विकेट दिएन ।
बलियो टोलीसंग पराजित हुदाँ टस, स्लो विकेट तथा अनुभबको कमी मुख्य कारण रहेको प्रशिक्षक टमाटा बताउँछन् ।
‘बंगलादेशको टोलीमा विश्वकप खेलेका खेलाडी थिए ।’ उनले थपे, ‘पिच स्लो विकेट थियो, महत्वपूर्ण खेलमा टसले समेत फरक पार्यो ।’
कम स्कोरमा समेटिएकाले दोस्रो इनिङमा उर्जापुर्ण खेल नदेखाएको टमाटाको विश्लेषण छ ।
‘स्कोरबोर्डमा कम्तिमा सय रन भएको भए खेलको नतिजा फरक हुन सक्थ्यो ।’ उनले थपे ।
पराजित भएसंगै नेपालको फाइनल पुग्ने सम्भावना कठिन भएको छ ।
फाइनल पुग्न नेपालले अब अर्को टेष्ट राष्ट्र श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्नुको बिकल्प छैन ।
पराजित भएपनि खेलाडीले नराम्रो नखेलेको प्रशिक्षक जगत टमाटा बताउँछन् ।
‘नेपालले नराम्रो खेलेको छैन । खेलाडीले सकेको कोशिश गरेका छन् ।’ उनले भने, ‘अन्तिम खेलमा मानसिक रुपमा बलियो भएर खेल्ने छौं । फाइनल पुग्ने लक्ष्य लिएर राम्रो क्रिकेट खेल्छौं ।’
तीन महिनाको लामो बन्द प्रशिक्षण गरेको नेपाल घरेलु भूमीमा ऐतिहासिक स्वर्ण जित्ने लक्ष्यमा रहेको छ ।