काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल पराजित भएको छ । लिग चरणको दोस्रो खेलमा बुधबार नेपाल टेष्ट राष्ट्र बंगलादेशसंग १० विकेटले पराजित भएको हो ।
पोखरा रंगशालामा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७ ओभर ४ बलमा विकेट नगुमाई पुरा गर्यो । उसका आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रनको अविजित इनिङ्स खेलिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ पाएको नेपाल १९ ओभर २ बलमा ५० रन बनाउँदा अलआउट भएको थियो । नेपालकी कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १३ रन बनाउँदा सोनु खड्काले १२ र इन्दु बर्माले १० रन जोडिन् ।
नेपालको ४ खेलाडी शुन्यमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बंगलादेशकी रबिया खानले ४ विकेट लिईन् ।
पहिलो खेलमा माल्दिभ्समाथि शानदार जित निकालेको नेपालले बंगलादेशसँग भने निरिह बन्यो । बंगलादेशसँगको हारसँगै नेपालको फाइनल यात्रा कठिन बन्ने देखिएको छ ।
अब नेपालले डिसेम्बर ६ मा श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । फाइनल पुग्न नेपालले टेष्ट राष्ट्र श्रीलंकालाई पराजित गर्ने पर्ने दबाब रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।