काठमाडौं । श्रम स्वीकृति बिना काम गर्दै आएका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा एक बर्षको प्रतिबन्ध लागेको छ । गत जनवरी १७ बाट पर्यटक भिषामा नेपालमा बस्दै आएका मुख्य प्रशिक्षक कोजीलाई अध्यागमन विभागले सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको हो ।
पर्यटक भिषामा नेपालमा १ सय ५० दिनसम्म बस्न पाईने व्यवस्था छ । सन् २०१६ बाट मार्चबाट नेपालको राष्ट्रिय टिम समाल्दै आएका कोजीले पछिल्लो समय श्रम स्विकृती नलिएर नेपाली फुटबललाई नेतृत्व गर्दै आएका थिए ।
पछिल्लो समय अखिल नेपाल फुटबल संघ एन्फा नयाँ नेतृत्व चयनमा व्यस्त हुदाँ कोजीको श्रम स्विकृतीको काम अघि बढ्न सकेको थिएन ।
सुरुमा दुई बर्षकालागि नेपाली फुटबल टिम समाल्ने जिम्मेवारी पाएका कोजीलाई एन्फाले सन् २०१८ को साफ च्याम्पियनसिप सम्मकालागि समय थप गरेको थियो । एन्फासंग उनको अनुबन्धन आगामी नोभेम्वरमा सकिदै छ ।
पर्यटक भिसा सकिएपछि नेपाल बस्दै आएका कोजीलाई अध्यागमन विभागले जापान फिर्ता पठाउने निर्णय गरेको हो । अध्यागनम विभागमा महानिर्देशक ईश्वरराज पौडेलले म्याद गुज्रिसकेको अवस्थमा अध्यागमनको कानुन आकर्षित भएपछि जापानी नागरिक कोजीलाई स्वदेश फर्काउने निर्णय भएको बताए ।
‘उहाँको ‘ओभर स्टे’ देखिएको छ । सोही कारण उहाँलाई एक बर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरि स्वदेश फर्काउने निर्णय गरेका हौ ।’ पौडेलले खेलपाटीलाई भने ।
एन्फामा नयाँ नेतृत्व आएपनि प्रशिक्षक कोजीलाई वैधानिक रुपमा नेपालमा राख्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।
‘उहाँको भिषा हेर्दा समय धेरै गुज्रिसकेको अवस्था देखियो । सोही कारण उहाँको श्रम स्विकृतको काम गर्न ढिलाई भयो ।’ एन्फाका एक पदाधिकारीले भने ।
अध्यागमन विभागले प्रतिबन्ध लगाएसंगै मुख्य प्रशिक्षक कोजी नेपाली टिम लिएर आजै थाईल्याण्ड उडेका छन् । उनको नेतृत्वमा नेपालले त्यहाँ दुई मैत्रिपुर्ण फुटबल खेल्नेछ । लगत्तै कोजी सहितको नेपाली टोली एसियन गेम्समा सहभागि हुन इन्डोनेशियाको जाकार्ता पुग्नेछ ।
एसियन गेम्ससंगै नेपाल, बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा सहभागि हुनेछ । साफ च्याम्पिनसिप नेपालले कोजीकै नेतृत्वमा खेल्ने एन्फाले प्रष्ट पारेको छ ।
एन्फाले कोजीलाई साफ जिताउने जिम्मेवारी सहित गत फागुनमा सम्झौता नविकरण गरेको थियो ।
‘पर्यटक भिषामा ओभर स्टे गरेका कारण उहाँ नेपाल फर्कने सम्भावना निकै कम छ ।’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘तर हामीले वर्किङ भिषाकालागि प्रयास गरिरहेका छौ ।’
निरन्तर ओरालो लागेको नेपाली फुटबल समाल्न नेपाल आएको जापानी प्रशिक्षक कोजीको नेतृत्वमा नेपालले सोलिडारिटी कप जितेको थियो ।
एन्फा स्रोतका अनुसार साफ च्याम्पियनसिप खेलेर कोजी बंगलादेशबाटै जापान फर्कनेछन् ।