काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
नेपालको जितमा कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । यस्तै अविशेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ५१ औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
खेलको ६६ औं मिनेटमा अविशेकले गोल गर्दै नेपालको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा मिक्छेनले गोल गर्दै नेपाललाई ४-० को शानदार जित दिलाए ।

जितसँगै नेपालले १ खेलमा ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ । भुटानले बिहिबार माल्दिभ्ससँग खेल्नेछ ।
पहिलो खेलमा भुटानले बंगलादेशलाई १-० ले हराएको थियो ।
राउण्ड रोबिनको आधारमा जारी पुरुषतर्फ शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।