काठमाडौं । एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारी गर्न नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा १० दिने विशेष प्रशिक्षणको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
२९ खेलाडीसहितको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरे । विदाई कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले एसियन गेम्समा जित निकाल्दै राष्ट्रिय गौरवको स्वाभिमान बढाएर फर्किन शुभकामना दिए । यस्तै एन्फा अध्यक्ष शेर्पाले खेलाडीको तलबमा ५० प्रतिशत वृद्धि गरेको बताउदै नेपाली टोलीबाट राम्रो नतिजाको आश गरेको बताए ।
नेपालले विशेष प्रशिक्षणको दौरान दुई अभ्यास खेल खेल्ने छ । नेपालले स्थानीय क्लब र थाइल्याण्डको यू-२३ टोलीसंग अभ्यास खेल छन् । नेपालले पहिलो अभ्यास खेल अगष्ट ७ मा पुलिस टेरो क्लबसंग बोनयाचिन्दा स्टेडियममा खेल्ने छ । यस्तै नेपालले यू–२३ टोलीसंग अगष्ट १० मा थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।
थाइल्याण्ड जाने नेपाली टोलीको घोषणा यसअघि नै भईसकेको छ । मुख्य प्रशिक्षक ग्योतुकी कोजीले थाइल्याण्डको लागि २९ खेलाडीलाई छनोट गरेको छ ।
इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छ । र, नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
यस्तै नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ । साफमा नेपालले समूह चरणमा आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग खेल्ने छन् ।
थाइल्याण्ड जाने नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, एलेन न्यौपाने, सोजित गुरुङ, बिकेश कुथु
डिफेन्डर : आदित्य चौधरी, अनन्त तामाङ, बिराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौरब बुढाथोकी, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ , रबिन श्रेष्ठ, रोेहित चन्द, सन्तोष तामाङ
मिडफिल्डर : अभिषेक रिजाल, अन्जन बिष्ट, बिशाल राई, हेमन गुरुङ, हेमन्त थामा मगर, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ
स्ट्राइकर : भरत खवास, बिमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, सुमन लामा