काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले ५ बल बाँकी रहदा ४ विकेट गुमाएर पुरा गर्यो ।
श्रीलंकाका अशनले अविजित ७२ रन बनाउँदा ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए। निशान मदुष्काले ४६ रन बनाए भने पाथुम निसांकाले ३० रन जोडे। असेन बन्दरा १० रनमा अविजित रहे। अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्।
नेपालका पवन सर्राफले २ विकेट लिँदा सोमपाल कामी र सुशन भारीले समान १ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित ७२ रन बनाए । ४४ बलमा ४ चौका र ३ छक्का हानेका दीपेन्द्र ७२ अंकमा अविजित रहे।
ओपनर पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान २१ रन जोडे ।
पवन सर्राफले २२ रन बनाए। श्रीलंकाका कामिन्दु मेन्डिसले २ विकेट लिँदा दुबिन्दु तिलकारत्ने, काभिस्का अन्जुला र असिथा फार्नान्डोको नाममा १–१ विकेट रह्यो।
नेपालले अब बिहीबार भुटानविरुद्ध खेल्नेछ।