काठमाडौं । घरेलु टोली नेदरल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (शुक्रबार) दोस्रो खेल खेल्दै छ । दुई खेलको एकदिवसीय सिरिज खेल्न नेदरल्याण्ड पुगेको नेपालले आज अन्तिम तथा दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाल डेब्यु खेल खेल्न नेदरल्याण्ड पुगेको हो । तर, नेपालले डेब्यु खेल भने गुमाएको थियो । बुधबार भएको ऐतिहासिक खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले हारेको थियो ।
हारबाट एकदिवसीय क्रिकेटमा पाइला चालेको नेपाल दोस्रो खेलमा भने जित्ने लक्ष्यसहित मैदान उत्रने छ । र, नेपाल दुई खेलको सिरिजलाई बराबरी गर्न चाहन्छ । आजको खेल जिते नेपालको एकदिवसीय क्रिकेट सिरिज सुखद बन्नेछ । यता, नेदरल्याण्ड पनि सिरिजमा क्लिन स्विप गर्ने लक्ष्यमा हुनेछ ।
नेदरल्याण्ड र नेपालबीचको खेल नेपाली समयअनुसार दिउसो पौने ३ बजे भिआरए मैदानमा सुरु हुनेछ । नेदरल्याण्डविरुद्ध दोस्रो खेलमा जित निकाल्न नेपाललाई कम्तिमा ब्याटिङ सुधारको आवश्यकता रहेको छ ।
ब्याटिङ कमजोर हुँदा नेपालले जित्नुपर्ने डेब्यु खेल गुमाएको थियो । डेब्यु खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय पारी र दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उच्च थिएन् । त्यसैले बलिङमा उत्कृष्ट रहेको नेपालले ब्याटिङ लाइनलाई सुधार गर्नुपर्ने हुन्छ ।
गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।
नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।
नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो । नेदरल्याण्डविरुद्धको दुई खेलको सिरिजपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।