काठमाडौं । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालकी अन्जली चन्दले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छिन् ।
अन्जलीले साग अन्तर्गत महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध कुनै रन नखर्ची ६ विकेट हात पार्दै विश्वको उत्कृष्ट बलिङ फिगरको कीर्तिमान बनाएकी हुन् । उनले २ ओभर १ बल बलिङ गर्दै विना कुनै रन माल्दिभको ६ विकेट लिएकी थिइन् ।
टि ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमा किर्तिमान बनाउँदा अन्जली निकै खुसी छिन् । सुरुमा त खेलमा स्थान पाउनेमा समेत दोधारमा थिइन् अन्जली ।
'खेल्ने मौका पाएँ भने दुई तीन विकेट लिन सके खुसी हुनेछु भन्ने सोचेको थिएँ,' अन्जलीले भनिन्, 'यस्तो कीर्तिमान बन्छ भन्ने त सोचेकै थिइन् ।'
यस्तै अन्जलीको सपना अझै ठुलो रहेको छ । अन्जली आगामी दिनमा समेत नेपालको लागि प्रभावशाली प्रदर्शन गर्ने लक्ष्य रहेकी बताउछिन् ।
'आगामी दिनमा हुने विश्वकप छनोट खेलमा राम्रो प्रदर्शन गर्दै नेपाललाई विश्वकपमा पुर्याउन चाहान्छु,' अन्जलीले थपिन्, 'सुरुमा त यहिँ सागमा केन्द्रित भएर खेलौं अनि अरु सोचौंला ।'
नेपालले घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट पहिलो पटक खेलेको हो । १२ वर्षदेखी नेपालले अन्तराष्ट्रिय क्रिकेट खेले पनि घरेलु मैदानमा खेल्न घरेलु म्समर्थक सामु खेन बन्चित हुनु परेको थियो ।
माल्दिभ्सविरुद्धको खेलमा नेपालले सानदार जित हात पारेको थियो । पहिलो पटक अन्तराष्ट्रीय क्रिकेट खेलेको माल्दिभ्सले दिएको १७ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ बलमा पुरा गरेको थियो ।