एजेन्सी । इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटसंगको सम्झौता बढाउन चाहेको बताएको छ । प्रशिक्षक साउथगेटसंगको सम्झौता दुई बर्ष बाँकी रहदै एफएले नयाँ सम्झौता गर्न चाहेको हो ।
रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि एफएले प्रशिक्षक साउथगेटसंगको सम्झौता थप गर्न चाहेको हो । एफएले हाल छुट्टिमा रहेका साउथगेट समक्ष चाडै नयाँ प्रस्ताव लैजाने बताएको छ । सन् २०१६ मा इन्ग्लिश टोलीका प्रशिक्षक बनेका साउथगेटको सम्झौता सन् २०२० सम्म रहेको छ ।
प्रशिक्षक साउथगेटसंगको नयाँ सम्झौताबारे एफएका सीईओ मार्टीन ग्लेनले भनेका छन्, 'हामी उहालाई सन् २०२० भन्दा बढी राख्न चाहन्छौं ।'
तर, सीईओ मार्टिनले साउथगेट छुट्टीमा रहेका कारण सम्झौता बढाउनेबारे छलफल नभएको बताए । 'मलाई लाग्छ हामी दुबै चाहन्छौं । यदी हामीले कुनै लम्बाईको कुरा गर्छौं भने हामी अनुबन्ध वार्तालाप गर्ने छौं । तर, उहाँ विदामा हुनुहुन्छ, फर्किएपछि हामी कुरा गर्छौं,' मार्टिनले भनेका छन् ।
४७ बर्षीय प्रशिक्षक साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले रुस विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको थियो । इंग्ल्यान्ड २८ बर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । रुस विश्वकपपछि साउथगेट इंग्ल्यान्डमा निकै रुचाइएको छ ।
तर, सीईओ मार्टिनले प्रिमियर लिगको आकर्षक तलबले प्रशिक्षक साउथगेटलाई प्रभावित बनाउन सक्नेमा चिन्ता व्यक्त गरे । रुसमा साउथगेटको सफलताले इन्ग्लिश क्लबहरुले उनलाई तान्न सक्नेमा मार्टिनले चिन्ता व्यक्त गरे ।
साउथगेटको तलब १.८ मिलियन पाउण्ड बार्षिक रहेको थियो । तर, बोनस लगयत अन्य गरेर अहिले २.५ मिलियन पाउण्ड पाउने गरेको बिबिसीले जनाएको छ ।
सीईओ मार्टिनले एफएले प्रिमियर लिग क्लबले दिने तलब भने दिन नसक्ने स्पष्ट गरेको छ । मार्टिनले भने, 'म मेरा कर्मचारीलाई बराबर तिर्न चाहन्छु किनकी उनीहरुले जोखिम नउठाउन । तर, हामी एक खेलकुदको निकाय हौं । हामी म्यानचेस्टर युनाइटेड (इन्ग्लिश क्लब) हैनौं ।'
हालको सम्झौता अनुसार साउथगेट युरोकपसम्म इन्ग्लिश टोलीको प्रशिक्षक रहनेछन् । तर, सम्झौतामा नवीकरण गरे साउथगेटले सन् २०२२ को विश्वकपसम्म टिम हेर्नेछन् । सन् २०२२ को विश्वकप कतारमा हुनेछ ।