काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सोमबार दक्षिण एसियाली खेलकुद (साग) मा डेब्यु गर्दैछन् ।
घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार माल्दिभ्ससँग खेल्दै नेपालले सागमा डेब्यु गर्नेछ ।
साग इतिहासमा पहिको पटक महिला क्रिकेट समावेश गरिएको हो । र, सबै महिला क्रिकेट टोलीको सागमा डेब्यु हुनेछ ।
पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध मैदान उत्रदा महिला क्रिकेट टिमको अर्को डेब्यु समेत हुनेछ । महिला टिम पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ ।
महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले यस अघि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन् ।
सागमा डेब्यु र पहिलो पटक घरेलु मैदानमा खेल्न पाउँदा खेलाडी सबै उत्साहित छन् । नेपाल घरेलु भूमिमा पहिलो पदकको लक्ष्यमा रहेका छन् ।
करिब ३ महिनाबाट नेपालले स्वर्ण पदक ल्याउने लक्ष्यसहित तयारी गरेको थियो । महिला टोलीले पाएको ३ महिने प्रशिक्षण इतिहासकै लामो प्रशिक्षण पनि हो ।
विदेशी भूमिमा खेल्दै आएका खेलाडीलाई घरेलु दर्शकको सामु घरेलु मैदानको सहजता हुनेछ । यसको अधिकतम फाइदा उठाउने प्रयास महिला क्रिकेटरले गर्नेछन् ।
घरेलु दर्शकसामु टेष्ट राष्ट्रसंग खेल्न लागेको महिला क्रिकेटरले कडा मेहनत र तयारी गरेका छन् ।
'टेष्ट राष्ट्रसंग घरेलु मैदानमा समर्थकलाई निरास नबनाउन सानो भन्दा सानो कुरालाई समेत ध्यान दिंदै छौं,’ कप्तान रुबिना क्षेत्री भन्छिन्, ’मेहनतलाई विश्वास गर्दा पदक आउँदैन भन्न सकिन्न ।’
सागको महिला क्रिकेटमा चार टिम रहेका छन् । जसमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेको छ ।
नेपालले माल्दिभ्सपछि डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।
शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।