काठमाडौं । एकतिर भुकम्पले थिलोथिलो बनेको देश ।
अर्को तिर छिमेकीले लगाएको नाकाबन्दी ।
शोक र निराशाकाबीच नेपालले १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागीता जनाएको थियो ।
कमजोर तयारी र भद्रगोल ब्यवस्थापनबीच नेपाल १२ औं साग खेल्न भारतको गुहाटी र सिलोङ लागेको थियो ।
नेपालले शोक र निराशाका बीच तीन स्वर्ण जित्यो ।
दुई स्वर्ण व्यक्तिगत स्पर्धामा आएको थियो भने अर्को एक टिम गेम्समा ।
पहिलो स्वर्ण युवा खेलाडी निमा घर्तिमगरले उसुमा दिलाएकी थिईन् । अर्को स्वर्ण फुपु ल्हामु खत्रीले जुडोमा ल्याएकी थिईन् । भुकम्प र नाकाबन्दीको पिडा भुलाउने काम पुरुष फुटबलले गर्यो ।
भारतलाई हराउँदै नेपालले फुटबलमा स्वर्ण जित्यो । त्यही स्वर्ण देशको आत्मबल बढाउन र नाकाबन्दी पिडा भुलाउन पर्याप्त बन्यो ।
उसुकी निमा
१२ औं सागको तीन दिनसम्म नेपाल स्वर्ण विहिन थियो । सबै जना पहिलो स्वर्णको प्रतिक्षामा थिए । तर हात लागिरहेको थिए । चौथो दिन नेपालले स्वर्णमा खाता खोल्यो ।
१६ बर्षकी उसुकी खेलाडी निमा घर्तिमगरले थाउलोमा स्वर्ण जितिन् । उनी १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने खेलाडी बनिन् । उनै निमा सागमा लगातार दोस्रो स्वर्ण जित्ने लक्ष्य सहित तयारी गरेकी छिन् ।
जुडोमा फुपु
१२ औं सागले चम्काएको अर्को खेलाडी फुपु ल्हामु खत्री हो । उनले जुडोमा नेपाललाई स्वर्ण दिलाएकी थिईन् । जब उनले स्वर्ण जितिन्, एक पछि अर्का कथाहरु उनीबारे लेखिए । ती प्राय वियोग र पिडाका कथा थिए । फुुपुले गुमाएको आफ्नो प्रिय पिताको कथा थिए । उनको बुवा हिमाल चढ्ने क्रममा पहिरोले पुरिएका थिए । त्यही पिडालाई शक्तिमा बदल्दै उनले १२ औ सागमा स्वर्ण जितिन् ।
उनको कथा त्यत्तिकै सकिदैन । उनीबाट घरेलु खेलकुदले ठुलो अपेक्षा गरेको थियो । उनले जुडोमा कम्तिमा नेपाललाई ओलम्पिकसम्म पुर्याउने धेरैको अपेक्षा थियो ।
सोही अनुसार जुडो संघ र नेपाल ओलम्पिक कमिटिले सन् २०२० को टोकियो ओलम्पिकका लागि तयार गर्न भन्दै फुपुलाई छात्रवृतिमा जापान पठायो । तर उनी जापानमा टिक्नै सकिनन् । उनी भागेर नेपाल फर्किन् ।
जे जति उनीबारे जापानबाट रिपोर्ट आयो, ती सबै नकारात्मक खबर थिए । अनि ओलम्पिक कमिटिसंग समन्व्य गर्दै जुडो संघले उनलाई टोकियो ओलम्पिकसम्मका लागि प्रतिबन्द गर्यो । सोही कारण उनले अब जुडो खेल्न नपाउने भईन् । उनी अहिले कहाँ छिन्, धेरैलाई थाहा छैन ।
यत्ति हो, उनी जुडोसंग सम्पर्कमा छैनिन् । नेपालले एक सम्भावना बोकेको ठुलो खेलाडीलाई गुमाउन गुमाएको छ ।
फुटबलको दिन
त्यो भुकम्प र नाकाबन्दीले जनजिवन प्रभावित बनेको समय थियो । नाकाबन्दीले भारतप्रति नकारात्मक भाव आम मानिसमा थियो । भुकम्पले थलिएको नेपालमाथि अमानविय नाकाबन्दी भारतले थोपरेको थियो ।
१२ औ सागमा नतिजाका हिसाबले नेपालले खासै राम्रो गर्न सकेन । तर जब फाईनलमा भारतलाई हराउँदै फुटबलमा स्वर्ण जित्यो । एक हिसाबले नाकाबन्दीको बदला फुटबलले लिएको धेरैले माने । त्यही स्वर्णले भुकम्पको धेरै पिडा बिर्साईदिएको थियो ।
नेपाल पुन एक पटक फुटबलमा सोही चुनौती पेश गर्दैछ, १३ औं सागमा । जसका लागि कम्तिमा समापनसम्म कुर्नुपर्ने हुन सक्छ ।