काठमाडौं । मादक पदार्थ सेवन गरेर हो–हल्लामा उत्रिएका राष्ट्रिय टिमका प्रशिक्षणरत खेलाडीलाई कारबाही गर्न अखिल नेपाल फुटबल संघ एन्फा पछि हटेको छ ।
राष्ट्रिय टिमका प्रशिक्षणमा रहेका फुटबल खेलाडीहरु रातको समयमा होस्टेल बाहिर निस्किएर मादक पदार्थ सेवन गरि हो–हल्लामा उत्रिएको समाचार सार्वजनीक भएसंगै एन्फाले घटनामा संलग्न ५ खेलाडीलाई ७२ घण्टे स्पष्टिकरण साधेको थियो ।
खेलाडीको स्पष्टिकरण प्राप्त भएसंगै एन्फाले तत्काल कारबाही प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । विमल घर्ति मगर सहित घटनामा संलग्न ५ खेलाडीलाई एन्फाले बैदेशिक भ्रमणकालागि थाईल्याण्ड लैजाने तयारी निर्णय गरेको छ ।
‘खेलाडीले स्पष्टिकरण बुझाएका छन् । सुरक्षा दिने कम्पनीसंग समेत स्पष्टिकरण माग गरेका छौ । कम्पनीलाई ७ दिनको समय दिएका छौ ।’ एन्फाका प्रवक्ता किरण राईले खेलपाटीसंग भने, ‘पुरै प्रतिवेदन आएपछि आवश्यक निर्णय गर्नेछौ । अहिलेलाई खेलाडीलाई थाईल्याण्ड लैजाने निर्णय गरेका छौ ।’
एसियन गेम्स र साफको तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टिम बैदेशिक प्रशिक्षणकालागि थाईल्याण्ड जादैछ । थाईल्याण्ड बसाईको क्रममा नेपाली टिमले दुई मैत्रिपुर्ण खेल खेल्नेछ ।
गत शुक्रबार राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका खेलाडीहरु साँझको समयमा एन्फा होस्टेलबाट निस्किएर रातभर मादक पदार्थ सेवन गरेर हो–हल्लामा उत्रिएका थिए । साँझ ७ बजे होस्टेलबाट निस्किएर बिहान ४ बजे मात्तिएको अवस्थामा एन्फा कम्प्लेक्स पुगेका खेलाडीहरु हो–हल्ला गरेको एन्फा परिसरमा रहेको सीसीटीभी फुटेजमा देखिएको थियो ।
एन्फाले सोही फुटेजका आधारमा खेलाडीको पहिचान गरेर ७२ घण्टे स्पष्टिकरण सोधेको थियो । सो घटनामा विमल घर्तिमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ गुरुङ संलग्न रहेको भेटिएको थियो ।