पोखरा । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले १३ औं दक्षिण एसियाली (साग) मा प्रतिस्पर्धा गर्न टिम तयार रहेको बताएका छन् ।
साग अन्तर्गत महिला क्रिकेट पोखरा रंगशालामा रहेको छ । र, नेपाली टिमले अन्तिम तयारी गरिरहेको छ ।
पोखरा रंगशालामा शनिबार अन्तिम तयारीको क्रममा भेटिएका प्रशिक्षक टमटाले खेलाडी सागका लागि उत्साहित रहेको समेत बताए ।
'सागका लागि केहि महिनाबाट जारी रहेको प्रशिक्षणले खेलाडीलाई उत्साहित बनाएको छ । हामी सागका लागि तयार छौँ,' प्रशिक्षक टमटाले भने ।
नेपाली महिला टिमले शनिबार खेल हुने रंगशाला पोखरा रंगशालामा तयारी गरेको थियो । रंगशालाको प्रशिक्षणले खेलाडीले मैदान र पिचबारे जानकारी पाएको समेत प्रशिक्षक टमटाले बताए ।
सागको महिला क्रिकेटमा चार टिम रहेका छन् । जसमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेको छ ।
नेपालले डिसेम्बर २ मा माल्दिभ्ससँग खेल्दै सागको सुरुवात गर्नेछ ।
यस्तै डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।
शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।