काठमाडौं । प्रविधिको सहायताबाट खेलिने फ्यान्टसी फुटबल प्रतियोगिता 'फुट्टी फेन्टासी' बिहिबारबाट सुरु भएको छ । कर्नर फ्लाग प्रालिको आयोजनामा बिहिबारबाट दोस्रो संस्करणको 'फुट्टी फेन्टासी' प्रतियोगिता सुरु भएको हो ।
कर्नर फ्लागले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सिजनको फ्यान्टसी प्रिमियर लिग (एफपिएल) 'फुट्टी फेन्टासी' सुरु भएको जानकारी गराएको हो । कर्नर फ्लागको आयोजनामा हुने फ्यान्टसी प्रिमियर लिग (एफपिएल) मा सहभागी मोबाइल एप्स फुट्टी फेन्टासी (Footy Fantasy ) डाउनलोड गर्नुपर्ने हुन्छ । फ्लागको अनुसार एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र आईओएस प्रयोगकर्ताले एप्स स्टोरमा गएर डाउनलोग गर्न सकिने छ ।
यो सिजन ३८ हप्ताको खेलपछि अन्तिममा उत्कृष्ट हुने सहभागीले नगद १ लाख प्राप्त गर्नेछन् । यस्तै प्रत्येक हप्ताका उत्कृष्ट हुने एक सहभागीले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । गत बर्ष प्रत्येक हप्ता उत्कृष्ट हुनेले नगद पाँच हजार प्राप्त गरेका थिए ।
इङ्लिस प्रिमियर लिग आगामी अगष्ट ११ बाट हुँदैछ । र, इङ्लिस प्रिमियर लिग करिब ९ महिना खेलिन्छ । प्रिमियर लिगमै आधारित भएकाले फ्यान्टसी प्रिमियर लिगको अवधि पनि ९ महिना कै रहने आयोजकले जनाएको छ ।
इन्ग्लिश प्रिमियर लिग (इपिएल) मा आधारित रहेर खेलिने यो फुटबल पूर्ण रुपमा कल्पनामा आधारित खेल हो । प्रिमियर लिगको अफिसियल साइटबाट बार्षिक ४५ लाखले फ्यान्टसी फुटबल खेल्ने गर्छन् । अमेरिकामा बिल विन्किन्ब्याक र सन् १९७१ मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यतः मनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा भित्र्याएका थिए ।
पछिल्लो बर्षको तथ्यांकअनुसार नेपालमा करिब ५० हजारले ‘फ्यान्टसी फुटबल’ खेलेका थिए । गत बर्ष कर्नर फ्लागले आयोजना गरेको प्रतियोगितामा १० हजार बढीले सहभागिता जनाएका थिए ।
नेपालमा ‘फ्यान्टसी फुटबल’ को लोकप्रियता बढिरहेको कारण दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको कर्नर फ्लागका सीइओ सौरभ घिमिरेले बताए ।
नेपाली लिगको लागि पनि फ्यान्टसी एप्स बनाउने तयारीमा जुटेको बताउदै घिमिरेले भने, 'फ्यान्टसीको बढ्दो लोकप्रियतालाई हेरेर नेपाली माझ यो खेललाई थप रोमान्चक बनाउन 'फुट्टी फेन्टासी’ एप्स निर्माण गरेका हौ । यसले नेपालमा फ्यान्टसीको लोकप्रियता अझै बढ्ने विश्वास छ ।'