काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बिहीबार आफ्नो १८ औं जन्मदिन मनाइरहेका छन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेको भोली पल्ट उनको जन्मदिन परेको हो । सन्दीपले नेदरल्यान्ड्सको खेलबाट बुधबार एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।
शुक्रबार एमस्ट्राडमको भिआरए मैदानमा दोस्रो खेल खेलेपछि नेपाली टोली काठमाडौं फर्किने छ । सन्दीप भने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न लाग्ने छन् । नेपालको क्यालेन्डरसंग जुध्न पुगेकाले सन्दीपको क्यारेबियन प्रिमियर लिगमा यात्रा अनिश्चित भएको थियो ।
क्यारेबियन प्रिमियर लिग अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म आयोजना हुदैंछ । सन्दीपलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो । त्यस्तै नेपालले खेल्ने एसिया कप छनोट अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा आयोजना हुनेछ ।
नेपाली टोली स्रोतका अनुसार सन्दीप नेदरल्यान्ड्सबाट क्यारेबियन लाग्ने छन् । सन्दीपले सेन्ट किट्सबाट सीपीएल खेल्ने छन् । त्यसपछि एसिया कप छनोट खेल्न उनी सिधैं त्यहाँबाट मलेसिया आउने छन् । एसिया कप छनोट अगाडि नेपालले अर्को मुलुकमा गई तयारी गर्न पनि सक्छ । सन्दीपले त्यसमा भने सहभागिता जनाउने छैनन् ।
सन्दीपको टोली सेन्ट किट्स प्ले अफमा पुगेमा उनी फेरि मलेसियाबाट क्यारेबियन लाग्ने छन् । एसिया कप छनोटको विजेताले युएईमा सेप्टेम्बर १५ देखि २८ सम्म हुने एसिया कपमा प्रतिस्पर्धा गर्न पाउने छ । छनोटको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर खेल्ने छ । नेपाल विजयी भई एसिया कपमा पुगेमा सन्दीप क्यारेबियनबाट सिधै युएई पुग्ने सम्भावना पनि रहन्छ ।
इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्सबाट सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए । आईपीएल अक्सनमा २० हजार र क्यानाडा लिगमा ४० हजार डलरमा उनको भाग लागेको थियो ।
सन्दीपले नेपालबाट २२ लिस्ट ए खेलमा ४३ विकेट लिइसकेका छन् ।