एजेन्सी । वेष्ट इण्डिजले अफगानिस्तानविरुद्धको एक मात्र टेष्टमा सहज जित निकालेको छ ।
भारतको लखनउमा भएको एक मात्र टेष्टमा वेष्ट इण्डिजले शुक्रबार अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।
टस हरेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो । उसका जाभेद अमादीले सर्वाधिक ३९ रनको इनिङ्स खेले ।
यस्तै अमिर हम्जाले ३४ तथा अफ्सर जजाईले ३२ रन बनाए । वेष्ट इण्डिजका रखिम कर्नवलले ७ विकेट लिए ।
पहिलो इनिङ्समा वेष्ट इण्डिजले २ सय ७७ रन बनाउँदा अल आउट भएको थियो । उसका शमर्ह ब्रुक्सले १ सय ११ रनको शतकीय इनिङ्स खेले ।यस्तै जोन कम्बेलले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा शेन डोर्विचले ४२ रन बनाए । अफगानिस्तानका अमिर अम्जाले ५ तथा राशिद खानले ३ विकेट हात पारे ।
पहिलो इनिङ्समै पछि परेको अफगानिस्तानले दोस्रो इनिङ्समा पनि उत्कृष्ट खेल्न सकेन । दोस्रो इनिङमा उसले १ सय २० रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानका जाभेद अहमदीले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इब्राइम जाद्रानले २३ र नासिर जमलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
दोस्रो इनिङ्समा अफगानिस्तान ससतैमा समेटिएपछि वेष्ट इण्डिजले ३१ रनको सामान्य लक्ष्य पाएको थियो ।
अफगानिस्तानलाई सस्तैमा समेट्न वेष्ट इण्डिजका जेसन होल्डर, रखिम कर्नवल र रस्टन चेसले समान ३/३ विकेट हात पारे ।
अफगानिस्तानले दिएको ३१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजलाई सहज जित दिलाउन जोन कमवेलले १९ रनको अविजित पाली खेले । यस्तै क्राइग ब्रेथवेटले ८ रन बनाउँदा शाही होप ६ रनमा अविजित रहे ।