काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको माल्दिभ्सविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल 'ए' टिमले २ सय १७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १६ रन बनायो ।
नेपालको ठुलो स्कोरमा कप्तान शरद भेषवाकर र प्रदीप ऐरीले अर्धशतकीय इनिङ्स खेले । ४२ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा शरदले ८४ रन बनाए । यस्तै प्रदीपले ३६ बलमा ३ चौका सहित ६८ रन बनाए । त्यस्तै दिलिप नाथले २७ र अमित श्रेष्ठले २५ रन जोडे ।
बिहिबार भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको थियो ।
माल्दिभ्सविरुद्ध नेपालको 'ए' टिममा साग टिम बाहिर रहेका खेलाडी रहेका छन् ।