काठमाडौं । विश्व क्रिकेटमा एसिया पावर हाउस हो । एसिया भन्दा पनि अझ दक्षिण एसिया भन्दा हुन्छ । दक्षिण एसियाका ८ राष्ट्र मध्ये (अफगानिस्तान सहित) ५ राष्ट्रले टेष्ट मान्यता पाएका छन् । नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको छ ।
तर, दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेटले खासै महत्व पाउन सकेको छैन । साग सुरु भएको २६ वर्षपछि सन् २०१० मा बंगलादेशमा भएको संस्करणमा पहिलो पटक क्रिकेटलाई समावेश गरिएको थियो । तर पनि सागमा क्रिकेट नियमित हुन सकेन ।
सन् २०१६ मा भारतको गुवहाटीमा भएको १२ औं संस्करणको सागमा क्रिकेटलाई समावेश गरिएन । लगत्तै नेपालमा हुन लागेको सागमा क्रिकेटलाई समावेश गरिएको छ ।
सागमा सबै राष्ट्रको क्रिकेट स्तर एकै नभएको कारण टेष्ट मान्यता प्राप्त राष्ट्रले यू-२३ राष्ट्रिय टिम खेलाउने गरेको छ । यसपटक साग क्रिकेटमा भारत र पाकिस्तान भने खेल्ने छैनन् ।
नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र सफलतालाई आधार मान्दै नेपालले आयोजक राष्ट्रको हैसियतमा क्रिकेटलाई सागमा समावेश गरेको हो ।
ईतिहास -
सागमा एक पटक मात्र समावेस भएको क्रिकेटमा नेपालले ४ राष्ट्रविरुद्ध ५ खेल खेलेको छ । जसमा नेपालले १ खेल जित्दा चौथौ स्थानमा सिमित बनेको थियो ।
नेपालले सागमा पहिलो खेल आयोजक बंगलादेशसंग खेलेको थियो । नेपाल ८ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८० रन बनाउन सक्यो । बंगलादेशले ९ ओभर ३ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका भुवन कार्कीले २ विकेट लिएका थिए ।
दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्यो । १ सय ६७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय २ रन मात्र बनायो । र नेपाल ६४ रनले पराजित भयो । ब्याटिङमा सुवास खकुरेलले २२, अनिल मण्डल २८, प्रदिप सिंह ऐरी २४ र विनोद भण्डारीले ११ रन बनाए । बलिङमा रुपेस श्रीवस्तबले ४, कप्तान ज्ञानेन्द्र मल्लले २ तथा अनिल र आकास गुप्ताले समान एक एक विकेट हात पारेका थिए ।
तेस्रो खेलमा पाकिस्तानसंग नेपाल ९१ रनले पराजित भयो । १ सय ७४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । नेपालका ज्ञानेन्द्र र प्रदिप ऐरीले समान र २१ अनिल मण्डलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
चौथो खेलमा कमजोर माल्दिभ्सलाई नेपालले १० विकेटले पराजित गर्दै पहिलो जित हात पारेको थियो । ५६ रनको सामान्य लक्ष्य नेपालले ७ ओभरमा विना क्षति पुरा गर्यो । नेपालका अनिलले २९ र सुवासले २७ रनको अविजित ईनिङ्स खेलेका थिए ।
यस्तै प्रतियोगिताको अन्तिम खेल तथा तेस्रो स्थानकालागि पाकिस्तानसंग नेपालले खेलेको थियो ।
सो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर नेपालले १ सय ४६ रन बनायो । नेपालका प्रदिप ऐरीले सर्वाधिक अविजित ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । ज्ञानेन्द्रले ३०, सुवासले २५ र अनिलले २० रन बनाएका थिए ।
१ सय ४७ रनको लक्ष्य पाकिस्तानले बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गर्यो । नेपालका चन्द्र साउदले ३ तथा ज्ञानेन्द्रले २ विकेट हात पारेका थिए ।
प्रतियोगितामा कुल ९९ सय रन बनाएका अनिल मण्डल सर्वाधिक रन बनाउने खेलाडीको सातौँ स्थानमा रहे । ६ विकेट लिएका मल्ल सर्वाधिक विकेट लिने खेलाडीको पाँचौं स्थानमा रहे ।
तयारी -
नेपालले सागमा स्वर्ण पदक ल्याउने लक्ष्य सहित तयारी अन्तिम चरणमा पुर्याएको छ । करिब २ महिनादेखि निरन्तर बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा समेत भाग लिंदै आएको छ ।
सागको बन्द प्रशिक्षणमा रहेपनि नेपालले ११ अन्तराष्ट्रिय खेल खेलिसकेको छ । जसमा ३ एकदिवसीय, ८ टी ट्वान्टी अन्तराष्ट्रिय रहेका छन् । जसमा नेपालले तीन टी ट्वान्टी र एक एकदिवसीय खेल जितेको छ । एक टी ट्वान्टी खराब मौषमका कारण रद्द भएको छ ।
स्वर्णको लक्ष्य रहेपनि नेपालले कडा चुनौतीको सामना गर्नुपर्नेछ । घरेलु टोलीका लागि मुख्य चुनौती टेष्ट राष्ट्र हुन् । गत हप्ता नेपालले एसीसी इमर्जिङ कपमा टेष्ट राष्ट्र बंगलादेश र भरतको यू २३ टिमसंग फराकिलो हार ब्यहोरेको थियो ।
सागमा उत्रदै गर्दा नेपालको पहिलो लक्ष्य फाइनल पुग्नु हुनेछ ।
‘लक्ष्य पक्कै पनि स्वर्ण हो । तर उनीहरु (श्रीलंका र बंगलादेश) हामी भन्दा धेरै माथि छन् ।’ कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सुरुमा कसरी फाइनल पुग्ने भन्नेमा केन्द्रित छौं । त्यसपछि स्वर्णका लागि खेल्ने हो ।’
श्रीलंका र बंगलादेश नेपाल भन्दा माथिल्लो स्तरका टोली भएका कारण ठुलो लक्ष्य हात पार्न टेष्ट राष्ट्रलाई हराउनुपर्ने चुनौती नेपालका अगाडी छ । घरेलु मैदान र समर्थकको साथले नेपाली टिमलाई केही फाईदा पक्कै हुनेछ ।
भारत र पाकिस्तान नहुँदा नेपाललाई फाइदा समेत छ । दुई ठुला राष्ट्र नहुँदा नेपाललाई कम्तिमा पदकको दाबेदार मान्न सकिन्छ ।
साग अन्तर्गत पुरुष टी ट्वान्टी क्रिकेटमा सार्वजनिक तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलंका हो । नेपालले श्रीलंकाविरुद्ध डिसेम्बर ३ मा खेल्ने छ ।
डिसेम्बर ५ मा भुटानसँग, डिसेम्बर ६ मा माल्दिभ्सको सामना नेपालले गर्नेछ । अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।
सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।
बंगलादेश र श्रीलंकाले यू २३ टिम पठाउने छ । अन्य राष्ट्रको भने सिनियर टिम हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्य पदकको लागि खेल्नेछ ।
साग खेल्ने टिम :
ज्ञानेन्द्र मल्ल
पारस खड्का
दिपेन्द्र सिंह ऐरी
करण केसी
सोमपाल कामी
बिनोद भण्डारी
अभिनास बोहरा
सन्दिप जोरा
आरिफ शेख
पवन सर्राफ
ललित नारायण राजवंशी
कुशल भुर्तेल
सुशन भारी
राशिद खान
रोहित कुमार पौडेल